FAQs Complain Problems

कृष्णपुरमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन

कृष्णपुरमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन महेन्द्रनगर, १९ कार्तिक – कृष्णपुर नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन गरिएको छ। कृष्णपुर स्वास्थ्य चौकीमा गरिएको कार्यक्रममा नगर स्तरीय समिति गठन गरिएको हो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षतामा गठन गरिएको समितिमा नगर उप प्रमुख रमिता राना बडायक र प्रहरी निरीक्षक प्रकाश कार्की उप संयोजक छन्। सदस्य सचिव इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख भरत सिंह धामी, सदस्यहरुमा कृष्णपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष आशुराम चौधरी लगायत सरोकारवाला संघ सस्थाका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतका समाजका क्रियाशिल व्यक्तिहरु सदस्य रहेका छन । जिल्ला प्रहरी कार्यालयको सबै स्थानीय तहमा समिति गठन गर्ने कार्यक्रम अनुसार सोमबार कृष्णपुर नगरपालिकामा सरकारी तथा गैर सरकारी संस्था सहितको सहभागितामा कार्यक्रम गरी समिति गठन गरिएको छ। कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक मेख बहादुर खत्रीले समुदाय प्रहरी साझेदारीको औचित्यबारे जानकारी गराएका थिए । उनले नकारात्मक भन्ने चिज हुदैन अब सुधार गर्नुपर्ने चिजलाई बढी प्राथमिकता दिनुपर्ने बताए । सभाध्यक्ष आशनबाट बोल्दै समितिका संयोजक एवम् नगर प्रमुख हमालले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग र नगर समृद्ध बनाउन सबै सरोकारवालाकासित सहकार्य गर्दै अघि बढ्ने बताए। ‘नगरको समृद्धि सबैको चाहना हो, विकास र सुशासन सबै चाहन्छौ, शान्ति सुरक्षा सबैका लागि अपरिहार्य छ, नगरलाई शान्त बनाउन यो समितिले सबै सरोकारवालासित हातेमालो गर्छ’ उनले भने। नगर प्रमुख हमालले प्रहरी सेवालाई जनतासम्म कसरी पुर्याउने भन्ने उद्देश्यका साथ समुदाय प्रहरी कार्यक्रम आएको बताए । आफ्नो दायित्व र जिम्मेवारी अनुसार सबैले आ-आफ्नो तह र तप्काबाट लागौ । अपराध मुक्त समाज, भय रहित समाज, सुव्यवस्थित समाज निर्माणमा यो समिती कृयाशिल हुनेछ । कार्यक्रममा आफ्नो धारणा राख्दै उपप्रमुख रमिता राना बडायकले समाजलाई सुरक्षा र विकास आवश्यक पर्छ । सुरक्षा र विकास सङ्ग सङ्गै गयो भने मात्रै समृद्धि सम्भव छ त्यसैले आफ्नो जिम्मेवारी अनुसार सबैले कर्तव्य निर्वाह गर्नुपर्ने बताईन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले गृह मन्त्रालयको कार्यक्रम अनुसार देशभर स्थानीय तह सहित विभिन्न निकायसित सहकार्य कार्यक्रम शुरु गरिएको बताए। प्रहरी उपरीक्षक कडायतले भने, ‘आज नगर स्तरीय समिति गठन गरिएको छ, अरु पनि समिति गठन गर्नु पर्नेछ, वडा, टोल, विद्यालय स्तरीय समिति गठन गर्छौ।’ कार्यक्रममा सहभागीहरुले प्रहरीले जनतासित बलियो सम्बन्ध बनाउनु पर्ने सुझाव दिए। शान्ति सुरक्षाका लागि सबैले सहयोग गर्न पर्ने उल्लेख गर्दै समितिलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए। बुद्धिजीवि लक्ष्मण कार्कीले नगर स्तरीय समितिले विद्यालय स्तरमा रेडक्रस को जस्तै जुनियर सर्कल र युबा सर्कल जस्तो बिधालयको बार्शिक कार्यक्रममा पनि समेटिने गरि समेत समिति गठन गरिनुपर्ने र समिति मार्फत जनचेतना मुलक सामग्री समेटिएको श्रव्यदृष्य सामग्री प्रकाशन, ट्राफिक व्यवस्थापन, सडक नाटक लगायतका कार्यक्रम गर्नु पर्नेमा जोड दिए। समाजका विकृति, विसंगति हटाउन समितिको भूमिका प्रभावकारी हुने बताए। समाज सुधारका लागि विद्यार्थी मात्रै नभएर अभिभावकलाई समेत शिक्षा दिनु पर्ने आवश्यकता समेत महसुस गरिएको छ । बुद्धिजीवी गणेश मल्लले समुदायका नागरिक बिना बर्दीका प्रहरी भएकाले हामी आफू आबद्ध संघ सस्थाबाट खुल्ला मनले सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति/ शिक्षक अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक, प्रहरी अधिकारी, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी , पत्रकार लगायतको सहभागीता रहेको थियो।